संक्षिप्त परिचय

लमजुङ जिल्ला

लमजुङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा रहेको एक पहाडी जिल्ला हो । राजधानी काठमाण्डौबाट १६० किमी पूर्वमा रहेको यो जिल्ला पृथ्वी राजमार्गको डुम्रेबाट मनाङतर्फ २६ किमी उत्तरतर्फको यात्रा पछि प्रवेश गर्न सकिन्छ । भौगोलिक अवस्थिति अनुसार यस जिल्ला २८० डिग्री ०३ मिनेट १८ सेकेण्ड देखि २८० डिग्री ३० मिनेट ३८ सेकेण्ड उत्तरी अक्षांससम्म तथा ८४० डिग्री ११ मिनेट २३ सेकेण्ड देखि ८४० डिग्री ३८ मिनेट १० सेकेण्ड पूर्वी देशान्तरसम्म फैलिएको छ । यो जिल्ला हाल प्रदेश नं ४ मा परेको छ । नया संरचना अनुसार यस जिल्लामा ४ वटा नगरपालिका र ४ वटा गाउपालिका रहेका छन | यस जिल्लाको पूर्वमा गोर्खा जिल्ला, पश्चिममा कास्की जिल्ला, उत्तरमा मनाङ जिल्ला र दक्षिणमा तनहुँ जिल्ला पर्दछ । जिल्लाको भूगोल समुद्रि सतहदेखि ३८५ मिटर (नेपालको मध्य भाग,रम्घा) देखि विश्वका ८००० मिटरभन्दा अग्ला १४ अग्ला हिमालहरु मध्येमा पर्ने ८१६२ मिटर अग्लो मनास्लु हिमालसम्म फैलिएको छ । जिल्लाको कुल क्षेत्रफल १६९२ वर्ग किमी रहेको छ । नेपालको प्रसिद्द मर्स्याङ्दी नदी यो जिल्लाको विच भाग भएर बहन्छ ।

जलस्रोत र पर्यटनका हिसावले लमजुङ जिल्ला महत्त्वपूर्ण र उर्वर क्षेत्र मानिन्छ । त्यसैगरी नेपालको हिमाल पारीको जिल्लाको रुपमा परिचित मनाङ जिल्लामा जाने मोटरवाटो समेत यसै जिल्ला भएर  जान्छ । नदीनाला प्रशस्त भएको यो जिल्लामा जलविद्दुतको बढी सम्भावना रहेको छ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रूपमा यो जिल्लालाइ चिनिन्छ । यस जिल्लाको खेतीयोग्य जमिन ४५९४० हेक्टर रहेको छ । जिल्लामा कुल ३७ किमी मात्र पक्की सडक छ । जिल्लाका ८ गाविसहरू अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पदर्छन् । जिल्लाको कुल ७६ प्रतिशत जनसंख्याले राष्ट्रीय प्रसारणको विध्धुत सेवा प्राप्त गरेका छन् भने १० प्रतिशतले लघु जलविध्धुत सेवा लिएका छन् । यस जिल्लाले ८३.४ मेगावट विध्धुत राष्ट्रीय प्रसारणमा योगदान दिएको छ भने ५० मेगावाटको विध्धुत योजना सम्पन्न हुने अवस्थामा छ ।  पूर्ण साक्षर जिल्ला र खुल्ला दिसामुक्त जिल्लाको रूपमा यो जिल्ला घोषणा भै सकेको छ । जिल्लाका ९० प्रतिशत जनसंख्याले सुरक्षित पाइप पानी उपभोग गरेका छन् ।

२०६८ को जनगणाना अनुसार लमजुङ जिल्लाको कुल जनसंख्या १ लाख ६७ हजार ७२४ रहेको छ जसमध्ये महिलाको संख्या ९१ हजार ८११ (५४.७ प्रतिशत) र पुरूषको संख्या ७५ हजार ९१३ (४५.३ प्रतिशत) रहेको छ । जनघनत्व ९९.१३ प्रतिवर्ग किमी रहेको पाइन्छ । जातजातिको हिसाबले यस जिल्लामा गुरूङजाति ३२ प्रतिशत, क्षेत्री १६ प्रतिशत, बाहुन १३ प्रतिशत, विक ९ प्रतिशत, तामाङ ७ प्रतिशत रहेका छन् । नेपाल सरकारको नयाँ संरचना अनुसार हाल यस जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् ।  मानव विकास प्रतिवेदन २०१४ अनुसार यो जिल्ला १६ औं स्थानमा रहेको छ । लमजुङ जिल्ला शाहवंशको उद्गम जिल्ला पनि हो । शाहवंशले राज गरेको गाउँशहर दरबार यस लमजुङ जिल्लाको ऎतिहासिकरूपले महत्वपूर्ण स्थल हो । यो जिल्ला वीर भक्ती थापाको जन्मथलो भएको जिल्ला पनि हो । साथै राष्ट्रकवि माधव घिमिरे र संरक्षाणवीद डा. हर्क गुरूङको समेत यसै जिल्लामा जन्म भएको हो । सार्क नमुना गाउँ घलेगाउँले पनि यस जिल्लालाइ चिनाउन मद्दत पुर्याएको छ । यहाँका मानिसको औषत आयु ७०.९४ वर्ष छ ।


Skip to toolbar